NIC ASIA presents, eKantipur.com SAARC Insight, in association with Monalisa Textiles
नरेन्द्र मोदी, प्रधानमन्त्री, भारत

नरेन्द्र मोदी, प्रधानमन्त्री, भारत

कार्यकालः पहिलो
पार्टीः भारतीय जनता पार्टी

गत जेठमा भारतीय लोकसभा निर्वाचनमा ३० बर्षको रेकर्ड तोड्दै भारतीय जनता पार्टीले एकल बहुमत हासिल गरेपछि ६४ वर्षीय नरेन्द्र मोदी भारतका १५ औं प्रधानमन्त्री बनेका हुन् । उनको पार्टीले १६ औं लोकसभा निर्वाचनमा ५४३ सदस्यीय लोकसभामा २८३ सिट ल्याएको छ ।

सन् २००१ देखि २०१४ सम्म गुजरातका मुख्यमन्त्री भएका मोदीको लोकप्रियताकै कारण भारतीय जनता पार्टी सत्तारुढ कंग्रेसलाई पाखा लगाउन सफल भएको अनुमान गरिन्छ । उनको लोकप्रियतामा भाजपाका वरिष्ठ नेताहरु पूर्व प्रधानमन्त्रीसमेत रहेका अटल विहारी बाजपेयी र प्रधानमन्त्री पदका आकांक्षी लालकृष्ण आडबानीसमेत ओझेल परे ।

एक दशक बढी गुजरातमा उनले शासन गर्दा गुजरातले गरेको आर्थिक प्रगतिको सबैले तारिफ गर्ने गरेका छन् तर उनका आलोचकहरु उनको शासनकालमा गुजरातले आर्थिक प्रगति गरे पनि गरिबको जीवनस्तर नसुधारिएको भन्छन् । सन् २००२ मा अहमदाबादमा भएको धार्मिक दंगामा एक हजार बढीको मृत्यु भएपछि मोदी अन्तर्राष्ट्रियरुपमा आलोचित बनेका थिए ।

प्रधानमन्त्री चुनिए लगत्तै मोदीले सार्क राष्ट्रका सबै राष्ट्र प्रमुखलाई सपथ समारोहमा निमन्त्रणा दिएर आपसी सद्भावको सन्देश दिएका थिए । मोदीको सपथ समारोहमा नेपालका प्रधानमन्त्री सुशील कोइरालासहित सार्कका सबै राष्ट्र प्रमुख सहभागी थिए । आफू प्रधानमन्त्री भएलगत्तै उनले भुटानबाट छिमेकी राष्ट्रको भ्रमण सुरु गरे । उनी साउन १८ गते दुई दिने भ्रमणको लागि नेपाल आएका थिए । उनको नेपाल भ्रमण भारतीय प्रधानमन्त्रीको १७ बर्षपछिको नेपाल भ्रमण थियो ।

भ्रमणको क्रममा मोदीले नेपालको संसदमा ४५ मिनेट लामो सम्बोधन गर्दै आफू सधैं छिमेकी देशको भलो चिताउने प्रतिबद्धता जनाएका थिए । उनको सम्बोधनले नेपालीप्रतिको नकारात्मक भारतीय छवि नाटकीयरुपमा सकारात्मक बनेको थियो । 

हिन्दुवादी भारतीय जनता पार्टीको नेता भए पनि मोदीलाई विकासबादी नेताको रुपमा व्याख्या गरिन्छ । उनले वैदेशिक लगानी भित्र्याएर गरेको गुजरातको विकासशैली मोदी मोडलको रुपमा चर्चित छ ।